२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा,सबैभन्दा धेरै यी जिल्ला र प्रदेशबाट ?
काठमाडौं। राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको देखाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २१ लाख ९० हजार ५१२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेका छन्।
१५ लाख ५५ हजार ९६१ घर परिवारका १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ जना महिला गरी २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोबास गर्ने नेपालीको सङ्ख्या रहेको छ।
यो सङ्ख्या २०६८ सालको राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो। २०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो।
अक्सर विदेशमा बसोबास गर्ने सङ्ख्यामा देशभरका नगरपालिकाबाट ६७.०४ प्रतिशत रहेका छन् भने गाउँपालिका क्षेत्रबाट विदेश जानेहरू ३२.९६ प्रतिशत रहेका छन्।
प्रदेशगत रूपमा भने सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट १९.२ प्रतिशत जनसङ्ख्या विदेशमा बसोबास गर्ने गरेको पाइएको छ।
सबैभन्दा कम कर्णाली प्रदेशबाट ४.३ प्रतिशत देश बाहिर रहेको पाइएको छ। विदेशमा अक्सर बसोबास गर्ने परिवारमा अनुपस्थित सबैभन्दा बढी काठमाण्डौ, कैलाली, झापा, रुपन्देही र मोरङबाट छन्।
यी प्रत्येक जिल्लाहरूबाट कम्तीमा ७० हजारभन्दा बढी व्यक्ति अनुपस्थित देखिएको छ।