सरकारमा जान कांग्रेसका सर्तै सर्त, यस्तो छ बैठकको निर्णय
काठमाडौं। नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजनक संख्याका साथ सरकारमा जाने भएको छ।
पार्टी सभापति निवास धुम्वाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिटै सरकारमा सहभागी हुने निर्णय गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरुले मन्त्रीमण्डलमा आफ्नै दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले स्म्मानजनक संख्या पाउनुपर्ने बताए।
उनले कांग्रेसले पाउने संख्या र मन्त्रालयका बिषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसंग छलफल गर्ने र टुङ्गो लागेपछि नाम पठाउने जानकारी दिए।
सरकारमा जान कांग्रेसले ८ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ। बैठकले शान्ति प्रक्रियालाई अन्तिम टुङ्गो लगाउनका लािग पिडितहरुको भावनालाई पनि मध्यनजर राखेर यस सम्बन्धी कानून बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले जानकारी दिए।
त्यस्तै बैठकले बैंशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन लगाएतका विषयमा छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाउने निर्णय गरेको महतले बताए।