गठबन्धनमा मन्त्रालय भागबण्डाको यस्तो बन्यो खाका,गृह र अर्थ मन्त्रालय कसको भागमा ?

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। मन्त्रालयको भागबण्डा टुंग्याउन प्रचण्डले सत्ता साझेदारी दलहरूसँग अन्तिम छलफल गर्ने तयारीमा छन्।

प्रचण्डले मन्त्रालय भागबण्डाको खाका तयार गरीसकेका छन्। जसअनुसार कांग्रेसलाई ८ मन्त्रालय र माओवादीले ५ मन्त्रालय पाउनेछन्।

त्यसैगरी एकिकृत समाजवादीले २ र जनता समाजवादीले २ मन्त्रालय पाउनेगरी खाका तयार गरेको बालुवाटार स्रोतले जनाएको छ।

त्यसैगरी प्रचण्डले बनाइएको खाकामा सत्तासाझेदारी साना दललाई एक-एक मन्त्रालय छुट्याइएको छ। उक्त खाकालाई सत्तागठबन्धनको बैठकमा पेश गरेर अन्तिम रुप दिने तयारी छ।

माओवादीले सम्हालेको केही मन्त्रालय हेरफेर हुने भएको छ। प्रधानमन्त्री प्रचण्ड रहेकाले माओवादीले अर्थ वा गृह मन्त्रालय एक पाउनुपर्ने बताएको थियो।

जसअनुसार माओवादीले गृहमन्त्रालय पाउने पक्का जस्तै भएको छ शनिबार मात्रै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्‌कासँग छलफल गरेर गृह माओवादीले राख्‍ने सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो।

देउवासँगको छलफलपछि प्रचण्डले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय फेरेर गृहमन्त्री बनाउने तयारी गरेको उनी निकट एक नेताले बताए।

आज मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको छ। एक सय दिन पुगेको अवसरमा उनले मन्त्रालयमा पत्रकार सम्मेलन राखेका छन्।

प्रचण्डले चैत १० गतेसम्म मन्त्रिपरिषद्‌ विस्तार गरिसक्‍ने बताएका थिए । आइतबार सत्तारुढ दलहरू बसेर टुंगो लगाउँदै सोमबारसम्मका मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ।