ललितपुरमा दादुराको लक्षण देखिएका १० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिदै

ललितपुर। ललितपुर महानगरपालिका वडा नं १ कुपण्डोलमा दादुराको लक्षण भएका बिरामी भेटिएका छन्। कुपण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शङ्कास्पद बिरामी भेटिएका वडा कार्यालयले जनाएको छ ।

वडाका अनुसार अहिलेसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिपोर्ट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ। दादुरा रुबेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि बिरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत गरिएको छ।

आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मघुकरमणि आचार्यले दादुराको सङ्क्रमण पुष्टि भए छुट्टै आइसोलेशनमा बस्न र तत्काल वडामा जानकारी दिन समेत अनुरोध गर्नुभएको छ।

ललितपुर महानगरपलिकाका प्रवक्ता राजु महर्जनले टेकुमा गरिएको नमुना परीक्षणमा रिपोर्ट नेगेटिभ अर्थात् दादुराको सङ्क्रमण नभएको जानकारी आएको बताउनु भयो । तर, पाटनमा गरिएको परीक्षणको रिपोर्ट भने आउन बाँकी छ।