नयाँ मन्त्रीको शपथ ४ बजे हुने, कसलाई कुन-कुन मन्त्रालय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्।
गठबन्धन दलहरुबीच मन्त्रालय संख्या टुंगिएसँगै प्रधानमन्त्रीले आज दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।
सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने स्रोतले बतायो।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले उपप्रधान–रक्षा मन्त्रालयको जिम्मेवारीसहित सरकारको नेतृत्व गर्ने भएका छन्।
अर्थमा भने प्रकाशशरण महत जांदैछन्।
परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ।
यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निर्णय भइसकेको छैन।
कांग्रेसले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
सो बैठकले नयाँ मन्त्रीहरूको नामावली टुंगो लगाउँदैछ।
त्यस्तै, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर हुँदैछ।
प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागको स्रोतले बतायो।
श्रेष्ठले सम्हाल्दै आएको भौतिक मन्त्रालयको नेतृत्व भने एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी भएको छ।
यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल नियुक्त हुँदैछन्।
ऊर्जा मन्त्रालय माओवादीको भागमा परेको छ।
२ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको जनता समाजवादी पार्टी (जसपा)ले शहरी विकास मन्त्रालय पाउने सम्भावना रहेको छ।