मन्त्री बनाउने देउवाको प्रस्तावले शेखर र गगनबीच मतभेद सुरू
काठमाडौं। नेपाली कांग्रेसमा थप चार मन्त्री छान्न सकस देखिएको छ। कांग्रेसभित्र गुटगत विवादका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन्।
अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन्।
देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए ।
गुरुङ र लिम्बुलाई मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखे ।
शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए ।
प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ।
शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा छन् । आफ्नो पक्षबाट नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ।
यो बिचमा सभापति देउवाले नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग संवाद गरेका छन्। पहिले दुई मन्त्रीको प्रस्ताव गरेका देउवाले शेखर–गगन पक्षलाई एक राज्यमन्त्री समेत थप्ने तयारी गरेका छन्।
दुई मन्त्री र एक राज्यमन्त्री दिने देउवाको प्रस्तावमा नेता शेखर कोइराला सकारात्मक छन्। महामन्त्री थापा भने देउवाको उक्त प्रस्ताव स्वीकार गर्ने पक्षमा छैनन् । थापाले भने, ‘पछिल्लो छलफलमा पनि सभापतिले दुई मन्त्री मात्र दिने कुरा गर्नु भयो । दुई वटामा मान्दै मान्दैनौं।
महामन्त्री थापाले नेता कोइरालालाई आफू पक्षीय सांसदको बैठक बोलाएर रणनीति तय गर्नुपर्ने भनेका थिए । महामन्त्री थापासँगको संवादमा सांसदहरुको बैठक बोलाउन कोइराला राजी थिए । तर बुधबार नेता कोइरालाले इच्छा नदेखाएपछि बैठक बस्न सकेन । आफ्नो पक्षबाट मन्त्री छनोटको मापदण्ड बनाउनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।
उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिकबबहादुर लिम्बुलाई मन्त्री बनाउने मुडमा रहेका नेता कोइराला मापदण्ड बनाउने पक्षमा छैन । शेखर–गगन समूहभित्र कसलाई मन्त्री बनाउने भन्ने विषयमा नेता कोइराला र महामन्त्री गगन थापाबिच विवाद छ ।
महामन्त्री थापा सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार र नेता प्रदीप पौडेलमध्ये एकलाई मन्त्री बनाउन चाहन्छन्। महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएको अवस्था छ। संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरेका थापा पार्टीभित्र मन्त्री छनोटमा ‘पावरसेयरिङ’ खोजिरहेका छन्।
यसका लागि महामन्त्री थापाले सभापति देउवाका साथै नेता कोइरालासँग पनि संघर्ष गर्नु परेको छ। सभापति देउवाले तीन मन्त्री नदिने प्रस्ट संकेत दिएपछि दुई मन्त्री र एक राज्यमन्त्री छनोट गर्न शेखर–गगन समूहलाई सकस परेको छ।