एकिकृत समाजवादीका वरिष्ठ नेता न्यौपानेद्वारा पार्टी परित्याग,एमालेमा जाने तयारी गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले साधारण सदस्य समेत नरहनेगरि पार्टी परित्याग गरेका छन्।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानले पार्टीका शिर्ष नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पार्टी सुधारका लागि आफुले ३३ बुँदे लिखित सुझाव नै दिएपनि उल्टै आफुलाई स्पष्टिकरण सोधिएको उनले बताए। न्यौपानेले सत्तागठबन्धनको दलदलमा पार्टी पद्धती र प्रक्रिया बिपरित नेताहरु फसेको आरोप लगाए।

उनले स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभा निर्वाचनसम्म आउँदा नेकपा एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको र सवै आफ्नो स्वार्थमा निहित भएको बताए। भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनका लागि पार्टी परित्याग गरेको उनको भनाइ छ।

न्यौपानेले आफुमात्रै नभएर पार्टीभित्रका अन्य नेताहरुको पनि असन्तुष्टि रहेको दावी गरे । उनले देशभरका नेता कार्यकर्तालाई एकजुट पारेर एमालेसंग एकता गर्ने तयारी भइरहेको जानकारी दिए।

न्यौपानले विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नगरी मार्क्सवादका दुईचार शब्द निकालेर अवसरवादीमा आधारित भएका कारण समाजवादीको कुनै भविष्य नदेखेको जिकिर गरे।