तलब भत्ता हिनामिना गर्ने दुई प्रहरी डिएसपीलाई कैद सजाय

काठमाडौं। कर्मचारीको तलब÷भत्ता अनियमितता गर्ने जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालिन दुई डिएसपी दोषी ठहर भएका छन्।

हाल अवकाशप्राप्त प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण बहादुर कुँवर र त्रिलोक बहादुर चन्दलाई बिशेष अदालतले बुधबार दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य यमुना भट्टराईको इजलासले बुधबार यस्तो फैसला गरेको हो।

विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कुँवरलाई एक वर्ष ९ महिना कैद र लेखापाल रहेका प्रहरी नायव निरीक्षक माधव चन्द ठकुरीलाई एक वर्ष ८ महिना कैद सजाय हुने फैसला सुनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तलब तथा भत्ता बावपतको रकम हिनामिना गरेको दाबीसहित एकै मितिमा दायर दुई मुद्दा लगाउमा राखेर सुनुवाई गर्दै आइरहेकोमा बुधबार फैसला सुनाएको हो।

हुम्लाको प्रहरी कार्यालयमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०७६ मा मुद्दा दायर गरेको थियो।

एउटा मुद्दामा कृष्णबहादुर कुँवरसमेत ९ र अर्कोमा त्रिलोक बहादुर चन्दसमेत ५ जनालाई प्रतिवादी कायम भएको थियो।

कुँवरसमेत ९ जना प्रतिवादी रहेको मुद्दामा सजाय सुनाए पनि चन्दसमेत पाँच जना प्रतिवादी रहेको मुद्दामा भने ८ वैशाखमा सजाय निर्धारण हुने प्रवक्ता योगीले बताए। यी दुवै मुद्दामा प्रतिवादी बनाइएका प्रहरी नायव निरीक्षक माधव चन्द ठकुरी दोषी ठहर भएका छन्।