रवि विदेशीबाट सञ्चालित मान्छे हो :अध्यक्ष केसी
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रास्वपाका सभापति रवि लामिछाने विदेशीबाट सञ्चालित मान्छे भएको बताएका छन्। उनले चितवनमा त्यस्ता मान्छेलाई भगवान् मान्नु दुर्भाग्य भएको टिप्पणीसमेत गरे।
शनिबार काठमाडौँमा जनमोर्चाद्वारा आयोजित ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ‘सेटिङ’बाट चलिरहेको आरोप लगाए।
अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चा मात्र लडिरहेको उनको भनाइ छ।
लोकतन्त्र, गणतन्त्र ल्याउनेहरूले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनले बताए। सङ्घीयताको विरोध गरेकै कारण जनमोर्चालाई आँखाको कसिङ्गर बनाइएको उनको भनाइ छ।
पुराना दलका नेताहरूले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण जनता विकल्प खोज्न बाध्य भएको उनको जिकिर छ।