मिटरब्याज पीडित र प्रहरीबीच झडप,५ जना घाइते
काठमाडौं। काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ। झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए। त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो। दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो।
प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा प्रहरीको लाठी लागेर ४÷५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो। तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा आएको छ।