नेपाल टेलिकमले भन्यो- कार्यालय बाहिर धर्ना दिने व्यक्तिहरु हाम्रा कर्मचारी होईनन्’
काठमाडौं।नेपाल टेलिकमले आफ्नो कार्यालय अगाडि धर्ना दिने व्यक्तिहरु आफ्ना कर्मचारी नभएको बताएको छ। सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना कर्मचारीहरुले धर्ना दिएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै उक्त सूचना भ्रामक भएको दाबी गरेको छ।
नेपाल टेलिकम, केन्द्रीय कार्यालयको प्रांगण बाहिर हाल केही व्यक्तिहरुले धर्ना दिइरहेको बारेमा आम सर्वसाधारण तथा आम सञ्चार माध्यममा समेत यस बारेमा केही भ्रम पर्न गएकोले स्पष्ट पारेको बताएको हो। टेलिकमले आफूले वार्षिकरुपमा सेवा लिने अन्य सेवा प्रदायक कम्पनीका कर्मचारीहरुले अनावश्यकरुपमा धर्ना दिएको बताएको हो।
कम्पनीकाअनुसार नेपाल टेलिकमले सेवा विस्तार, मर्मत सम्भार लगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियमरकानुन बमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको छ।
यस्तो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ।
“केही दिन पहिले सम्पन्न व्यवस्था अनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ। यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको अवस्था छ,” टेलिकमले भनेको छ।
हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने टेलिकमले जनाएको छ।