प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं। निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आइतबार चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ।

तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी खटिसकेका छन्। आवश्यक चुनावी सामग्री पनि पुगिसकेको आयोगले जनाएको छ।

उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।

उपनिर्वाचन हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्बाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ।

त्यस्तै, सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र चुनावका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ।

आयोगले कोभिड–१९ लगायत संक्रामक रोगको जोखिमलाई ध्यान दिँदै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न, गराउन पनि आग्रह गरेको छ।

यस्तै, हावाहुरी र बर्षातका कारण मतदानको काम प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखेर चुनावी सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका लागि पनि आयोगले निर्देशन दिएको छ।