चितवन २ मा रवि लामिछानेको जित पक्का
काठमाडौं। चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित पक्का भएको छ ।
करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन्।
लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत पाएका छन्।
रविको जित सुनिश्चित भएपछि कांग्रेस उम्मेदवार श्रेष्ठले मतदाताको दुःखसुखमा विगतको भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता जनाएका छन्।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन २ बाटै निर्वाचित भएका थिए। तर नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो।
उपनिर्वाचनमा पनि उनले भारी मतअन्तरले जित दोहोर्याउने निश्चित भएको छ।