रविलाई ओलीको प्रस्तावबारे बालुवाटारमा छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विहान नेपाली कांग्रेसका तीन नेतालाई मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरिसकेका थिएनन्, प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक राखेर सोधे, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउन चाहेको छ, के गर्ने ?

बालुवाटार बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा बहस भइरहँदा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसअनुसार कांग्रेसका तीन नेतालाई मन्त्री नियुक्त गरेका छन्।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन्।

मन्त्रिपरिषद् विस्तारका बाबजुद सत्तारुढ नेताहरु रास्वपालाई पनि सरकारमा ल्याउने पक्षमा देखिएका छन्। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबाहेक सबैले रास्वपालाई सरकारमा ल्याउनुपर्ने मत राखेका थिए ।

यादवले भने रास्वपा साना दलहरुलाई मिलाएर अर्को गठबन्धन बनाउने प्रयत्नमा रहेको सुनाएका थिए।

नेताहरुका अनुसार यो सूचना माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई पनि छ। रास्वपा सरकारमा आउन सकारात्मक भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रविलाई सरकारकै नेतृत्व गर्न प्रस्ताव गरेको सूचना प्रचण्डसम्म पुगेको छ।