सीके राउत र रवि लामिछानेबीच सरकारकै नेतृत्व गर्नेगरी कार्यगत एकता हुने
काठमाडौं। ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन नहोस् र कतिपय राजनीतिक एजेन्डाविपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो।
बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोस र देशमा केही त परिवर्तन होला कि भन्ने आशा जगाउने गर्नुहुन्थ्यो । कमब्याक हिरो ।
उपर्युक्त धारणा नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएपछि जनमत पार्टीका अध्यक्ष डाके राउतले आफ्नो फेसबुकमा लेखेका हुन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको यस्तो अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेर भने, ‘म त चाहन्छु डा।सीके राउतको नेतृत्वमा सरकार बनोस्, मधेसले पाओस्, मेरो समर्थन छ।
मधेसले पाओस् न प्रधानमन्त्री, म त्यसमा छु, तर संख्याले दिँदैन नि । अफकोर्स– नो नोट अगेन । हामी अहिले पनि नो नोट अगेन भनिरहेका छौं।रवि र सीके राउतका यी अभिव्यक्तिले उनीहरुबीचको सम्बन्धलाई केही हदसम्म उजागर गर्दछन् ।
चितवनबाट उपचुनाव जितेर आएपछि प्रधानमन्त्रीमा रवि लामिछानेको चर्चा सुरु भएसँगै यी दुई नेताको बीचमा भेटघाट बाक्लिएको छ।
जनमत पार्टीका नेता डा।शरद यादवले दुई पार्टीको बीचमा कार्यगत एकता गर्ने मौखिक सहमति भएको जनाए । राजनीतिको हरेक मोडमा एक अर्कालाई सहयोग गर्ने सहमति भएको उनको भनाइ छ।
संसदीय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी नयाँ हुन्। यी दुवै पार्टीले पुराना राजनीतिक दलको आलोचना गर्दै आएका छन् भने एक अर्काविरुद्ध कहिल्यै अभिव्यक्ति दिएका छैनन् । बरु संकटको समयमा एक अर्कालाई साथ दिँदै आएका देखिन्छन् ।
उपराष्ट्रपतिको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ छाडे पनि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनमत पार्टीलाई साथ दिएको थियो।
उपराष्ट्रपति चुनावका लागि जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपाबीच गठबन्धन बनेको थियो । उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झालाई सो गठबन्धनले साझा उम्मेदवार बनाएको थियो तर अन्तिम समयमा उन्मुक्ति पार्टी र लोसपाले साथ छाडे पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जनमत पार्टीलाई नै साथ दिएको थियो ।
यी दुई दलबीच राजनीतिमा सहकार्य गर्ने सहमति त्यतिबेला नै भएको नेता यादव बताउँछन् । दुवै नेताले एक अर्कामाथि विश्वास गर्ने भएकाले दुई दलको कार्यगत एकता लामो समय जाने बताइन्छ ।
सरकारमा जाने वा नजाने भन्ने विषयमा यी दुई दलले संयुक्त रुपमा निर्णय गर्ने जनमत पार्टीका नेताहरु बताउँछन् । वर्तमान सरकारमा जनमत र राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी छैनन् तर सरकारप्रतिको समर्थन दुवै दलले कायम राखेका छन्।
सरकारबाट समर्थन फिर्ता लिने अवस्था आएमा दुवै पार्टीले एक साथ निर्णय लिने बताइन्छ ।
मधेसमा जनमत पार्टीको जनाधार छ भने पहाडमा रास्वपाको जनाधार राम्रो छ । कार्यगत एकताले आगामी चुनावमा सरकारकै नेतृत्व गरेर अगाडि बढ्ने सहमति दुवै दलको बीचमा भएको पनि जनमत पार्टीका नेताहरु बताउँछन् ।