प्रहरीका एक जना लेखापाल पक्राउ परेसँगै,अन्य लेखापाल पनि अख्तियारको निगरानीमा

काठमाडौं । प्रहरीका लेखापालहरूले दुःख दिन थालेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बढेको छ । एक लेखापाल हालै पक्राउ परेका छन्, अन्यमाथि आयोगले निगरानी बढाएको छ ।

गत शुक्रबार आयोगले महोत्तरीमा कार्यरत लेखापाल बिनोद बिष्टलाई पक्राउ गरेको छ। ठेकदारसँग घुस लिदा लिदै उनी बानेश्वरको रेष्टुरेन्टबाट पक्राउ परेका थिए।

घुस लिनकै लागि उनी महोत्तरीबाट काठमाडौं आएका थिए। भवन निर्माणसम्बन्धि ठेक्काको भुक्तानी र म्याद थपका लागि उनले डेढ लाख रुपैयाँ घुस लिएका थिए। यो घटनाले प्रहरीभित्रको भ्रष्टाचार पनि कुन हदसम्म छ भन्ने देखाएको छ।

सो प्रकरणमा महोत्तरीका एसपी प्रकाश मल्ल पनि विवादमा तानिएका छन्। लेखापालले एसपीकै सहमतिमा पैसा उठाउन काठमाडौं आए वा सहमतिबिना आए खुल्न सकेको छैन।

मल्ल कांग्रेस नेता पूर्णबहादुर खड्काको दबाबमा महोत्तरी गएका अर्का एसपी हिराबहादुर पाण्डेले नै फेसबुकमा सार्वजनिक गरिदिएका छन् ।

ठूलो बजेट भएका हरेक जसो जिल्लाको अवस्था यस्तै छ । स्रोतका अनुसार सबैजसो लेखापालहरु पहिले नै पैसा बुझाएर गएका छन्। गत वर्ष बालकृष्ण खाणको कार्यकालमा गृह मन्त्रालयले नै लेखापालको सरुवामा पैसा उठाएको थियो।

अझ कतिसम्म भने लेखापाल सरुवासम्बन्धि नीति नै आर्थिक चलखेलका आधारमा संशोधन भएको थियो । सोही कारण प्रहरीको लेखा शाखामा विकृति बढेको हो।

उपत्यका तथा तराईका जिल्लाका लेखापालहरू बढी अनियमिततामा संलग्न छ । जिल्ला प्रहरी परिसर काठमाडौं तथा अपराध अनुसन्धान कार्यालयको नयाँ भवन निर्माण भइरहेको छ।

ती भवन निर्माणको भुक्तानीमा पनि ठूलो रकम लेनदेन भएको स्रोत बताउँछ। दुवै भवन एक अर्ब लगानीमा निर्माण हुन लागेका हुन्।

प्रहरी एकेडेमी तथा प्रहरी अस्पतालका लेखापालले पनि महिनामैं लाखौं कमाइरहेका छन्। प्रहरी अस्पतालमा हरेक सामान खरिदको भुक्तानीमा लेनेदेन हुने गरेको छ।

पछिल्ला केही ठेक्काका कारण अस्पताल नै बदनाम छ। प्रहरी एकेडेमीमा भने तालिमका नाममा वास्तविक भन्दा धेरै खर्च देखाएर अनियमितता हुने गरेको स्रोत बताउँछ।

प्रहरीको लेखामा भ्रष्टाचार सरुवाबाटै सुरु हुन्छ,एक उच्च प्रहरी अधिकारी भन्छन्,बजेटको सदुपयोग हुने हो भने प्रहरीलाई स्रोत साधनको अभाव हुन्न।