एकीकृत समाजवादीका अध्यक्ष नेपाल र संयोजक गौतमबीच पार्टी एकता बारे छलफल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच पार्टी एकताका विषयमा छलफल भएको छ।

सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा नेपाल र गौतम लगायतका नेताहरुबीच पार्टी एकताबारे छलफल भएको हो।

उक्त छलफलमा सहभागी एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार गौतम एकीकृत समाजवादीसँग एकतामा आउन सकारात्मक भएकाे बताए।

छलफल एकदमै सकारात्मक भएकाे छ,उनले भने एकता गरेर जानुपर्छ भन्नेमा उहाँ पुरै सहमत हुनुहुन्छ। र अब यसलाई चाँडै टुंग्याउने गरी कुराकानी भएको छ। नेपाल र गौतमबीच यसअघि पनि पार्टी एकताबारे पटक-पटक छलफल भएको थियो।

गौतमले एकताका लागि जनताको बहुदलीय जनवाद (जबज)लाई एकीकृत समाजवादीले स्वीकार गरेर जानुपर्ने शर्त राखेका थिए । एकीकृत समाजवादीले जबजलाई मार्गदर्शक सिद्धान्त मान्न अस्वीकार गरेको छ।

श्रेष्ठले पार्टी एकताका लागि त्यसबारे पछि छलफल गर्ने गरी जान गौतम लचक भएको जानकारी दिए। एकताका लागि उहाँका कुरा बाधक नहुने र त्यसमा समय क्रममा छलफल गर्दै जाने भन्ने भएको छ, उनले भने।

२०७७ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद भएपछि गौतम पनि अलग भएका थिए। त्यसयता उनले नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका छन्।