प्रहरीको गोली लागेर २ जना घाइते
काठमाडौं । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएका झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरी र प्रदर्शनकारी दुबैतर्फका घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।