पूर्वगृहमन्त्री खाणले गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसे, चपाए र निले

फाइल तस्वीर

काठमाडौं । भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले मैजुबहालस्थित उनको घरमा खातलासी पनि गरेको थियो ।

त्यसक्रममा एउटा गोप्य कागज पनि बरामद भएको थियो । तर, एकछिनमै प्रहरीको हातबाट खोसेर खाणले त्यो कागज चपाएर निलिदिएका थिए ।

खानतलासी गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर राजन लामाले खाणका भान्सेको साथबाट एक पत्र बरामद गरेका थिए ।

त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए, जसमा ठगी प्रकरणसँग सम्बन्धित विषय भएको स्रोत बताउँछ । त्यो पत्र आफूविरुद्धको बलियो प्रमाण हुने थाहा पाएपछि खाणले खोसेर चपाइदिएको प्रहरीको आकलन छ ।

त्यस विषयमा प्रहरीले भान्सेको समेत कागज गराएको छ । ‘इन्स्पेक्टरसाब त्यो कागज हातमा लिएर उहाँ (खाण)लाई गाडीमा हाल्ने प्रयासमा हुनुहुन्थ्यो, त्यही मौकामा खोसेर चपाएर निलिदिनुभयो,खाणलाई पक्राउ गर्न गएका परिसरका एक प्रहरीले भने ।

खाणले अहिले थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई सो कागज दिन खोजेको सूचना प्रहरीले पाएको छ।

सुरुमा पाण्डेले इन्कारी बयान दिएका थिए । तर, पछि उनको मोबाइलमा आर्थिक लेनदेनका कुराकानी भेटिएपछि पैसा लिएको स्वीकार गर्दै आफ्ना लागि नभई तत्कालीन गृहमन्त्री खाणका लागि लिएको ततिम्बा (पूरक) बयान दिएका छन् ।

भाग्न सक्ने तथा प्रमाण नष्ट गर्न सक्ने आकलनकै कारण प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी नगराई जरुरी पक्राउ पुर्जी दिएर खाणलाई पक्राउ गरेको थियो ।

आफूविरुद्ध पक्राउ पुर्जीको प्रक्रिया अघि नबढेको विषयमा एक–एक अपडेट प्रहरीबाट लिइरहेका रहेछन्,प्रहरी स्रोत भन्छ,अदालतबाट पहिले नै पुर्जी जारी भएको भए उनलाई पनि समाउन गाह्रो हुने रहेछ ।

पक्राउ पुर्जीको सूचना चुहिएकै कारण पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी फरार छन् ।

एक साताअघि आफैँ प्रहरीमा उपस्थित भएर सघाउने भन्दै उनले पक्राउ नगरिदिन आइजिपी वसन्तबहादुर कुँवरलाई फोन गरेर आग्रह गरेका थिए ।

सोहीअनुसार कुँवरले मातहतका प्रहरीलाई ‘सांसद भएकाले त्यति सुविधा दिन’ भन्दै पक्राउ गर्न गएको प्रहरी टोलीलाई फर्काएका थिए ।

त्यसपछि प्रहरीले रायमाझीलाई निगरानीमा समेत राखेन। त्यसको फाइदा उठाउँदै उनी फरार भएका भए । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सल्लाहकार रहेका इन्द्रजित राईका छोरा नीरज पनि फरार छन् ।

नयाँपत्रिका दैनिकमा खबर छ ।