स्रोत नखुलेको १४ लाख ८१ हजारसहित २ जना पक्राउ
काठमाडौं। स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका–४ सहिद गेटबाट ९ लाख भारतीय रुपैयाँसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो।
अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक९असई० गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए।
धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको साउँदले बताए।
उनकाअनुसार उनीहरुको साथबाट ९ लाख भारतीय रुपैयाँ (पाँच सय दलका १८ सय नोट) र ४१ हजार (पाँच सय दलका ८२ नोट) नेपाली रुपैयाँ बरामद गरिएको छ। दुवै जनाको साथबाट प्रहरीले कुल नेपाली १४ लाख ८१ हजार रुपैयाँ बरामद गरिएको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग नेपालगन्जमा बुझाइने बताइएको छ।