राप्रपाको सरकारी कर्मचारी संगठन नबनाउने निर्णय
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ।
जेठ १, २ र ३ गते बसेको राप्रपाको बैठकले सरकारी तलब भत्ता खाने कर्मचारीको संगठन नबनाउने निर्णय गरेको प्रवक्ता सगुन लावतीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। त्यस्तै राप्रपाले विद्यार्थी संगठनलाई गैर राजनीतिक बनाउने निर्णय पनि गरेको छ।
राप्रपाले पार्टीका हरेक समिति र तहहरूमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने बताएको छ।
त्यस्तै प्रारम्भिक रूपमा प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फ ५० प्रतिशत उम्मेदवार ‘प्राइमरी निर्वाचन प्रणाली’बाट चयन गर्ने निर्णय पनि गरेको प्रवक्ता लावतीले बताएका छन्।
बैठकले अध्यक्ष राजेन्ल्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र कोषाध्यक्ष निलकण्ठ काफ्लेले पेश गरेको प्रतिवेदन पनि पारित गरेको छ।