नक्कली शरणार्थी प्रकरण: यी १६ जनालाई लाग्नेछ कम्तीमा पाँच अभियोग
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका ३२ जनालाई नै ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिने भएको छ ।
आरोपितमध्ये चार उच्च पदस्थ र भुटानी शरणार्थी नेतासहित कम्तीमा पाँच जनामाथि भने राज्यविरुद्धको अपराधमा समेत मुद्दा चलाउनुपर्ने प्रहरीले निष्कर्ष निकालेको छ । आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला सचिवसहित १६ जना प्रहरी नियन्त्रणमा छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५५ दिन अनुसन्धान गरेर शनिबार तयार गरिएको प्रतिवेदन काठमाडौं प्रहरीले आइतबार सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।
भुटानी शरणार्थी बनाउने नाममा ठगी भएको उजुरी गत वर्ष जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो । त्यसको करिब १० महिनापछि गत चैत १२ मा तीन आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा गिरोहले करिब २६ करोड रुपैयाँ ठगी गरेको दाबीसहित सय जनाभन्दा बढीले प्रहरीमा जाहेरी दिएका थिए । गिरोहले १ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएको अनुमान छ ।
अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पद धारण गरेका पूर्व र बहालवाला आरोपितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचार र अन्यका हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत थप अनुसन्धानका लागि लेखी पठाउनुपर्ने राय छ ।
‘राज्यविरुद्धको अपराध र किर्तेको हकमा भने प्रतिवादीको भूमिका, संलग्नता र सार्वजनिक ओहदाअनुसार सजाय मागदाबी लिन राय दिइएको छ,’ प्रहरीका एक उच्च अधिकारीले भने ।
तथ्य र प्रमाणले खुलेअनुसार कानुनका बलिया दफा लगाएर सजाय मागदाबी गर्न प्रहरीले राय दिए पनि मुद्दा कमजोर बनाउन राजनीतिक र प्रशासनिक शक्तिकेन्द्रले पर्दा पछाडिबाट निरन्तर चलखेल गरिरहेकाले ढुक्क भइहाल्ने स्थिति नरहेको स्रोतले जनाएको छ ।