मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। सिंहरदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
आज बस्ने मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भोलि जेठ १५ गते संसदमा प्रस्तुत गर्दै छ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे आज राजनीतिक परामर्श गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा भारत भ्रमणबारे राजनीतिक परामर्श गर्न आज आइतबार दिउँसो २ बजे पूर्वप्रधानमन्त्री, दलका नेता र पूर्व परराष्ट्रमन्त्रीलाई बैठकमा बोलाएका हुन्।
सो छलफल लगत्तै प्रधानमन्त्री प्रचण्डले दिउँसो ३ः३० बजे कुटनैतिक परामर्श पनि गर्ने उनको सचिवालयले जनाएको छ। छलफलका लागि पूर्व परराष्ट्र सचीव, भारतका लागि पूर्व राजदुतहरु र विज्ञहरुलाई बोलाइएको छ।
प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्ने औपचारिक कार्यतालिका सार्वजनिक भएको छ। प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।