नेप्सेमा दोहोरो अंकले गिरावट

काठमाडौं । निरन्तरजसो उकालो लाग्दै आएको शेयर बजारमा आइतबार दोहोरो अंकको करेक्सन आएको छ।

उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लाग्दा कारोबार भने उल्लेख्य बढेर पौने ३ अर्ब हाराहारी पुग्यो। तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर १९ सय ४१ मा आएर थामिएको हो।

आइतबार पनि उकालो लाग्दै दुई दुई पटक १९ सय ७७ सम्म पुगेको नेप्सेको बृद्धि टिक्न नसकेर अन्तिममा ऋणात्मक रहेर थामिएको हो। आइतबार उत्पादनमूलक र सामूहिक लगानी कोषबाहेक बाहेक बाँकी समूह ओरालो लागे ।

पछिल्ला दिन उच्च आकर्षण रहँदै आएको होटल समूहमा यसदिन सबैभन्दा उच्च झण्डै ३ प्रतिशतको गिरावट आयो । जीवन बीमा समूह पनि साढें २ प्रतिशतले ओरालो लाग्यो।

विकास बैंक र वित्त समूहमा पनि २ प्रतिशत बढीको गिरावट आयो । यसदिन पनि यूनिलिभरको शेयर भाउमा ७ प्रतिशतको बृद्धि आउँदा उत्पादनमूलक समूह नै १ प्रतिशतले बढेको हो।

यसदिन नेपाल स्टक एक्सचेनन्जमा २ सय ७० कम्पनीको ७० लाख ५० हजार कित्ता शेयर २ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ।

आइतबार १ सय ७३ कम्पनीको मूल्य ओरालो लाग्दा ४३ कम्पनीको उकालो लाग्यो । यसदिन पनि आत्मनिर्भर लघुवित्त र यूनियन लाईफ इन्स्योरेन्सका लगानीकर्ताले उच्च १० प्रतिशत कमाए।