करोडौंको अवैध सामग्री भारतबाट तस्करी,सशस्त्र प्रहरीका डिएसपी थापाले लिए कालाबजारीसँग फ्रिज उपहार
काठमाडौं। सिरहाको दक्षिण सीमावर्ती ठाडी नाकाबाट दैनिक करोडौं रुपैयाँ बराबरको सामान अवैध रुपमा नेपाल भित्रिने गरेको रहस्य खुलेकाे छ।
सिरहाको प्रहरी प्रशासनले तस्करी रोक्न आफूहरु सफल भएको दाबी गर्दै आएको अवस्थामा यसरी उपभोग्य सामग्री अवैध रुपमा भारतबाट नेपाल भित्रिने गरेको खुलेको हो।
जिल्ला उद्योग वाणिज्य संघ,सिरहाले दैनिक दुई करोड रूपैयाँ बराबरको सामान उक्त नाकाबाट चोरीनिकासी हुँदै आएको निष्कर्षसहितको ज्ञापनपत्र बुझाएर जिल्ला प्रशासन कार्यालय, सिरहाको ध्यानाकर्षण गराएको छ।
दिनदहाडै भइरहेको तस्करीले लहान बजारका व्यापारीहरु सबैभन्दा धेरै प्रभावित भएको संघका अध्यक्ष विकास शारदाले बताए । दैनिक उपभोग्य सामान बिनाभन्सार नेपाल भित्रिँदा ठूलो परिमाणमा राजस्व गुमेको उनको भनाइ छ।
ठाडी नाकाबाट हुँदै आएको चोरी तस्करीले लहान बजारका व्यापारीहरू प्रभावित भएका छन्। भोजभतेर, विवाह, पूजाको नाममा बिनाभन्सार सामान भित्रिरहेका छन्।
यसले व्यापारी मात्र होइन् राज्य पनि मारमा परेको छ। ठूलो मात्रामा राजस्व गुमिरहेको छ। हामी केही दिनमै सिडियोलाई ज्ञापनपत्र बुझाउने तरखरमा छौं।
त्यसपछि नाकामै धर्ना बस्छौं’,उनले भने। त्यस्तै, लाखौंको लत्ताकपडा र जुत्ताचप्पल पनि सोही नाकाबाट अवैध रूपमा भित्रिने गरेको उनले जानकारी दिए।
शंकाको घेरामा सशस्त्रका डिएसपी सीमामा भन्सार बढेको निष्कर्षसहित सशस्त्र प्रहरी बलले माडर र ठाडीमा स्थायी भन्सार गण राख्ने प्रस्ताव गरेको थियो।अहिले ती दुवै स्थानमा प्रस्तावित गणको स्थापना गरिएको छ।
सशस्त्रको प्रस्तावित ठाडी भन्सार गणका इञ्चार्ज हुन्, सशस्त्र प्रहरीका डिएसपी दीपेन्द्र थापा । जिल्ला उद्योग वाणिज्य संघले नाकामा बढेको चोरी निकासीको दाबीसँगै डिएसपी थापा विवादमा तानिएका हुन्।
उक्त नाकाबाट सामानहरु अवैध रुपमा नेपाल भित्रिने कार्यमा उनले आँखा चिम्लिदिएको अधिकांशको आरोप छ। हालै सरूवा भएर आएका उनको प्रत्यक्ष संलग्नतामा अवैध चोरी निकासी मौलाएको भन्ने स्थानीय व्यापारीहरु धेरै छन्।
उक्त नाकामा तस्करीमा संलग्नहरूले डिएसपी थापाले मासिक ३ लाख रूपैयाँ उठ्तिपुठ्तिबाट असुलउपर गर्ने गरेको दाबि गरेका छन्।
त्यस्तै पछिल्लो पटक बिदा लिएर भक्तपुरस्थित आफ्नो घर जानेक्रममा डिसपी थापाले एक तस्करसँग उपहारस्वरूप पाएको फ्रिज उपहार लिएर गएको पनि ती ब्यापारीहरूको दाबि छ।
यता थापाले भगवानको कसम खाँदै’ तस्करीमा आफ्नो मिलोमतो नरहेको दाबी गर्दै आएका छन्। सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले पनि आफू सरुवा भएर आउने बित्तिकै भनेका थिए,यहाँ व्यापक चोरीपैठारी रहेछ।
यसलाई शुन्य बनाइने छ।हालको अवस्था त्योभन्दा ठ्याक्कै उल्टो भएको बताइन्छ। चोरीपैठारी घट्नुको साटो धेरै गुणाले बढिरहेकोमा सबैको चिन्ता छ।