प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने
काठमाडौं। प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आगामी बिहीबार हुने भएको छ।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले समितिको सोमबारको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको संसदीय सुनुवाइ जेठ ३२ गते गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
बैठकले ३१ गते उजुरीकर्तासँग छलफल गर्ने र त्यसको भोलिपल्ट सुनुवाइ गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीमाथि २९ वटा उजुरी परेको र अध्ययनका लागि समिति सदस्यलाई वितरण गरिएको छ।
संसदीय सुनुवाइ समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। समितिले जेठ २६ गतेभित्र कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो।
संवैधानिक परिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइबाट कार्कीको नाम स्वीकृत भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।