गैरकानुनी ढंगबाट चलेका स्वास्थ्य संस्था बन्द गर्ने काम जारी राख्छौंः मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गैरकानुनी ढंगबाट चलेका स्वास्थ्य संस्था बन्द गर्ने काम जारी राख्ने बताएका छन् । बुधबार मेयर बालेनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।
महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानूनी ढंङ्गबाट सञ्चालन भएको २ वटा स्वास्थ्य संस्था बन्द गरिसकेको छ । उक्त कार्यलाई अझ प्रभावकारी बनाउन महानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी कानूनी दायरामा स्वास्थ्य संस्थालाई ल्याउन स्पष्ट निर्देशन समेत गरेको छ ।
स्वास्थ्य संस्थाहरुको सुधारको विषय कुनै सस्तो लोकप्रियताको लागि नभएको भन्दै मेयर साहले कानुन व्यवस्था गर्नुको जुन उद्देश्य छ, सोही अनुसार स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुगोस भनी महानगरले अग्रसरता लिईरहेको समेत प्रष्ट पारेका छन् ।
यसका साथै महानगरपालिका भित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरुले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा र प्रचलित स्वास्थ्य सम्बन्धी कानूनरमापदण्डको पालना नगरेको पाईएमा संङ्घ÷प्रदेश मातहतका अस्पतालहरुमा समेत हस्तक्षेपकारी कानूनी कारवाही गरिने महानगरले जनाएको छ ।
महानगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार असाहय विपन्न सहित लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य संस्था सुधारको लागि काठमाडौं महानगरपालिकाले जेठ ६ गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ ।
संविधान र प्रचलित कानूनले नागरिकको आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हकहरु राज्यले प्रत्याभूत गर्नुपर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने मेयर बालेनको भनाई छ।
स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्न, लक्षित वर्गका नागरिकलाई स्वास्थ्य सम्बन्धी छुट सुविधा उपलब्ध गराउने तर्फ संङ्घ प्रदेश मातहत रहेका स्वास्थ्य संस्थालाई निर्देशित गरी कानून कार्य कार्यान्वयन भएको व्यवहारमानै देखिने अवस्थाको सृजना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई स्वास्थ्य संस्थाको विवरण सहित जेठ १६ गते महानगरले ध्यानाकर्षण समेत गराईएको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (४) ख २ अनुसार नागरिकले अनुभूत गर्ने गरी महानगरपालिकाबाट भएको अनुगमनको क्रममा त्यसतर्फ व्यवहारिक प्रयत्न भएको नपाईएको र सरकारी अस्पतालमा समेत सरसफाई, सेवाप्रवाह अस्तव्यस्त पाईएको मेयर बालेनको भनाई छ।