मनसुन प्रवेशसँगै देशभर वर्षा हुने क्रम बढ्यो
काठमाडौं। मनसुन प्रवेश गरेयता देशमा मौसम बदली र वर्षा हुने क्रम बढेको छ। मनसुन प्रवेश गरेको पहिलो दिन बुधबार नै देशका विभिन्न स्थानमा वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन्चट्याङसहित हल्का वर्षा भइरहेको छ।
यस्तै दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र देशका बाँकी पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन्चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन्चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै मधेश प्रदेशसहित देशका बाँकी पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन्चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।