६० प्रतिशत मात्रै राजस्व: लक्ष्य संशोधन

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्त पूरा हुँदासम्म आठ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले सुरुमा १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो।

जेठसम्म सङ्कलित राजस्व सुरु लक्ष्यको ५९.६४ प्रतिशत मात्र हुन आउँछ। घट्दो आयात तथा आर्थिक गतिविधिका कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सरकार राजस्व सङ्कलनको सङ्कुचनको अवस्थामा छ।

जसका कारण अहिलेसम्म सरकारले दुई पटक सङ्कलनको लक्ष्य संशोधन गरिसकेको छ । आर्थिक गतिविधिमा उल्लेख्य सुधार नहुँदा पछिल्लो संशोधन पनि पूरा गर्न मुस्किल हुने विश्लेषण हुन थालेको छ।

जेठसम्मको कुल राजस्व सङ्कलनमध्ये सात खर्ब ५९ अर्ब रुपैयाँ कर राजस्वको हिस्सा रहेको छ भने बाँकी ७७ अर्ब ८५ करोड रुपैयाँ गैरकर राजस्व रहेको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।