यस्तो छ आज देशभरको मौसम
काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी,प्रदेशमा सामान्य बदली रही रै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहने महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानहरुमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती पनि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
कोशी प्रदेशको एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको छ।
मेघगर्जन र चट्याङ्ग, बाढी, पहिरो भूक्षय तथा गेग्रान बहाव तथा वर्षा का कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।