साफ च्याम्पियनसिप: पहिलो खेलमै कुवेतसँग नेपाल ३-१ गोलले पराजित
काठमाडौं। भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ।आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ गाेलले पराजित भएको हो।
बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको खेलमा कुवेतलाई जिताउन मोहम्मद अब्दुल्लाहले एक गोल र एक असिस्ट गरे। खालिद हाजिएह र शबईब अलखल्दीले पनि गोल गरे । नेपालका लागि अन्जन विष्टले एक गोल फर्काए।
पहिलो हाफमा नेपालले आफ्नै गल्तीमा गोल खाँदा खेलमा फर्कन कठिन भएको थियो। कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल गर्यो।
२३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ३६ मिनेटमा कुवेतले अग्रता दोब्बर पार्ने अवसर गुमायो।कुवेतका फवाज अलोतावीको पासमा मोहम्मद अब्दुल्लाहको हेड प्रहार बारमा लागेर फर्कँदा अग्रता बढाउने अवसर गुमायो।
अधिकांश समय नेपालको हाफमा बल खेलाएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल गर्यो । मोहम्मद अब्दुल्लाहको पासमा शबईब अलखल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए।
यो गोलमा कुवेतले उत्कृष्ट खेल कला देखाएको थियो। अथ्बी सालेशले थ्रो बलमा उपलब्ध गराएको बलमा मोहम्मद अब्दुल्लाहको पासमा अलखल्दीले पेनाल्टी बक्समा विमल पाण्डेलाई छलाउँदै गोल गर्दा कप्तान किरणले रोक्ने कुनै अवसर पाएनन्।