भारतीय व्यापारीले दिए फेरि ‘नाकाबन्दी’गर्ने चेतावनी

काठमाडौं। भारतीय बजार सुनौलीबाट दैनिक नौतनवा लगायतकाबाट अवैध सामान आयात बढ्दै गएपछि रुपन्देहीको बेलहिया नाकामा कडाई गरिएको छ।

अवैध सामान आयात बढ्दै गएपछि सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यापार संगठन लगायत निजी क्षेत्रका संघसंस्थाले विरोध गर्दै आएका थिए।

पछिल्लो समय एक सय रुपैयाँ भन्दा बढीको सामान खरिद गरी नेपाल भित्र्याउँदा भन्सार नाकामा प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएपछि भारतीय बजारमा खरिदारीका लागि जाने नेपालीहरु पनि घटेका छन्। जसले गर्दा भन्सार राजस्व बृद्धि भइरहेको छ भने रुपन्देहीका बजार विगत भन्दा तुलनात्मकरुपमा चलायमान बनेका छन्।

विना भन्सार सहजै लाखौं रुपैयाँको सामान भित्र्याउन पाउने भएपछि विगतमा रुपन्देहीको बेलहिया नाका हुँदै भारतीय बजार सुनौली,नौतनवा लगायतका ठाउँमा दैनिक उपभोग्य वस्तु खरिद गर्न जानेको सीमानाकामा लर्को लाग्थ्यो।

सर्वसाधारणको भीडले नाकामा आउजाउमै समस्या हुन्थ्यो। दैनिक हजारौंको संख्यामा नेपालीहरु सामान खरिदका लागि भारतीय बजार पुग्थे। यसरी भारतबाट खरिद गरेर आउनेहरुले विना भन्सार रुपन्देहीसहित मुलुकका विभिन्न ठाउँमा सामान पुर्याउँथे।

यसबाट स्वदेशी व्यापारी आजित थिए भने मुलुकको करोडौं राजश्व गुमिरहेको थियो। पछिल्लो पटक भन्सार नाकामा निकै कडाई गरिएको छ।

भन्सार कर्मचारीसँगै सशस्त्र र नेपाल प्रहरी खटिएका छन्। उनीहरुले भारतीय बजारमा सामान खरिद गरेर फर्कनेलाई प्रज्ञापन पत्र भर्न र राजश्व तिर्न लगाउने गरेका छन्।

भारतीय बजार सुनौलीको ९५ प्रतिशत भन्दा धेरै कारोबार नेपाली उपभोक्तामाथि निर्भर छ । एक सय रुपैयाँ भन्दा धेरै मूल्यको कुनै पनि सामान ल्याउँदा भन्सार तिर्नुपर्ने कानुनी प्रावधान छ। तर व्यवहारिक पक्ष भन्दै यो नियमको कडाइकासाथ कार्यान्वयन भने भएको देखिदैन।

नाकामा कडाई गरिएपछि विगतका दिनहरुमा भन्दा अहिले भैरहवा भन्सार कार्यालयको राजश्व बृद्धि भएको छ। भैरहवा र यस आसपासमा सानाठूला व्यवसायमा खरिदविक्री निकै बढेको व्यवसायी बताउँछन्।

भन्सारमा कडाई हुँदा नेपाली उपभोक्तामा निर्भर सीमा क्षेत्रका भारतीय भारतीय ब्यापारी भने आक्रोसित छन्। उनीहरुले दूताबासमा गुहार गर्नेदेखि नाका बन्द गर्नेसम्मको चेतावनी दिइरहेका छन्।