कांग्रेस अलमलिदा सिंगो समाज प्रभावित भयो :महामन्त्री गगन थापा

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले अलमलमा पर्दा समाज प्रभावित भएको बताएका छन् ।

अरुको पार्टीले लय बिगार्दा कार्यकर्ता मात्रै निराश हुने भए पनि कांग्रेस बिग्रिंदा समाजमा नै निराशा छाउने उनले बताए । नेपाली समाजको निराशाको कारण पनि यही भएको बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘हामी अलमलिंदा, हामीले लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भएको छ।

उनले अब लय बिराएको कांग्रेसमा थिति बसाल्नु पर्ने बेला आएको बताए । अहिले पुरानो पार्टी भनेर गर्व गरेको तर नयाँलाई आकर्षण गर्न नसकेको उनको भनाइ छ।

कमजोरीलाई सच्याउने र ठीकलाई ठीक भन्न सक्नु पर्ने बताउँदै उनले पार्टीको केन्द्रीय समिति बैठक पनि बस्न नसकेको प्रति असन्तुष्टि जनाए।

उनले अब पार्टीको नयाँ संरचना बनाउने बताउँदै त्यसका लागि काठमाडौं बाहिर निस्केर अध्ययन गर्ने बताए। भदौ १५ देखि काठमाडौं छोडेर बाहिर निस्कन्छु,’ उनले भने,३५ दिनमा ३४/३५ जिल्लामा पुगेर जनसंवाद गर्छु। तलका कुरा ल्याएर आउँछु ।