फुटको संघारमा सत्ता गठबन्धन,राजनीतिक बेइमानीले संकटमा प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकार संकटको घेरामा तानिन थालेको छ। झण्डै सतप्रतिशत मत पाएका प्रचण्ड गठबन्धन फेरबदल र आफ्नै अडानबाट पछि हट्दा सत्ता समस्यामा फस्दै गएको देखिन्छ। पछिल्लो समय बजेटमाथिको असन्तुष्टी देखाएर सरकार फेर्ने अनेक प्रयास सुरु भएको आशंका बढ्दै गएको छ।
नक्कली शरणार्थी प्रकरणमा कडाईका साथ अनुसन्धान गर्न कस्सिएको प्रचण्ड नेतृत्वको सरकारले गठनको ६ महिनामै अनेक आरोह–अवरोह पार गरिसकेको छ।
शानदार बहुमतदेखि संसदमा विश्वासको मत नै पाइदैन कि भन्ने आशंकाबाट गुज्रिएको यो सरकार आन्तरिक तथा वाह्य शक्तिको चलखेलमा पर्दा संकटको डिलमा पुग्न थालेको आशंका गर्ने थुप्रै ठाउँ छन्।
कांग्रेसले नपत्याएपछि बालकोट पुगेका प्रचण्ड सत्तारोहण गर्न सफल त भए।तर उनले एमालेसँग सम्बन्ध तोडेर गठबन्धनमा गरेको फेरबदल र देखाएको राजनीतिक बेइमानीका कारण संकटमा फसेको कतिपयको तर्क रहने गरेको छ।
एमालेसँग भएको सहमति लत्याएर विश्वासको मतमा खेलेको कांग्रेसलाई अंगाल्न पुगेका उनी विभिन्न विरोध र आलोचनाको सिकार बन्न पुगेका छन्।
प्रतिपक्षी बेञ्चमा हुनुपर्ने माओवादी केन्द्र सत्ताको बागडोर सम्हाल्दै गर्दा प्रचण्डले देखाएको राजनीतिक चातुर्यता अब विस्तारै आफ्नैविरुद्ध लागू हुने त होइन? शंकाको सुविधा यहाँ पनि देखिन्छ। बजेटका कारण गठबन्धनमा देखिएको दरार संस्थागत बन्नेबाटोमा उद्दत देखिन्छ।
गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्ड नेतृत्वको कम्युनिष्ट सरकार ढालेर एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको नेतृत्वमा सरकार बनाउ लागेको आरोप लगाएका छन्।
माधव नेपालले सरकारको पक्षमा वकालत गरेजस्तो गरेपनि उनले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय आफ्नो पार्टीबाट गराइसकेका छन्।
यता सत्तारुढ ठूलो दल नेपाली कांग्रेसले पनि एमालेसँग सरकार बन्नसक्ने अवस्थालाई नकार्न नसकिने बताउदै आएको छ।अझं, कांग्रेस महामन्त्री गगन थापाले त चुनावभन्दा पहिलेको गठबन्धनलाई अप्राकृतिक भन्दै असन्तुष्टी पोख्दै आएका छन्।
उनले एक कार्यक्रममा बोल्दै ठीक ढंगले सरकार नचले अर्को सरकार बन्ने ठोकुवा नै गरिदिएका छन्।यता एमालेले पनि प्रचण्ड नेतृत्वको सरकार लामो समय नजाने दाबी गर्दै आएको छ।
सरकारले जनताका काम गर्न नसकेको,प्रधानमन्त्रीले सामान्य प्रक्रिया पनि पु-याउन नसकेको लगायतका आरोप लगाउदै एमालेले चाहेमा सरकार ढल्ने चेतावनी दिदै आएको छ।
यसरी हेर्दा मुलुकको राजनीतिमा सरकार फेरबदलका थुप्रै सम्भावनाहरु देखिन थालेका छन्। कांग्रेस पनि समाजवादी मोर्चाका कारण बेखुस देखिन्छ ।
गठबन्धनभित्र मोर्चा किन भन्दै कांग्रेस वृत्तमा प्रश्न उठेको बेला प्रचण्डले शक्ति संघर्ष चर्काउने देखेपछि कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने पक्षमा समेत प्रयास थालिरहेको छ।
नक्कली शरणार्थी प्रकरणबाहेक काममा प्रचण्ड विवादमा परेका छन्। त्रिविका उपप्राध्यापक प्रकरणमा होस वा अन्य सार्वजनिक विषयमा किन नहोस्।
देखिने गरि विरोध हुने गरेको छ। प्रतिपक्षीले पनि आक्रामक विरोध गर्दा जनतामा प्रचण्ड सरकारप्रति त्यति धेरै सहानूभूति नरहने डर उत्तिकै छ।
नागरिकता प्रमाणीकरणका कारण तराई मधेसमा देखिएको खुशी पनि यो सरकारले देखाउन नसकेको अवस्थामा सरकार संकटतर्फ उन्मुख रहेको देखिन्छ।जसकारण कांग्रेस एमालेको नेतृत्वमा सरकार बन्ने र गठबन्धनको दरार संस्थागत रुपमै सतहमा नआउला भन्न सकिन्न।