लागुपदार्थ दुव्र्यसनी नियन्त्रणमा सबैपक्षको इमान्दारिता आवश्यक: गृहमन्त्री श्रेष्ठ

फाइल तस्वीर

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको बताएका छन्।

सोमवार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा पर्दै आएको भन्दै गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका नियन्त्रित पदार्थ लागुऔषधका रुपमा प्रयोग गर्ने गरिएको पाइएको बताए।

उनले लागुऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक अवस्था रहेको बताए। नेपालमा लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको तथ्यांकले देखाएको छ।

विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुव्र्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने देखिएको छ।