राप्रपाका अध्यक्ष लिङ्देनको विरोधमा रेखा थापासहितका यी नेता एक ठाउँमा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना गरेकी छन्। यही असार १० देखि सुरु भएको केन्द्रिय कार्यसम्पादन बैठकमा उनले पार्टी अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आलोचना गरेकी हुन्।

केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा कार्य सम्पादन समिति सदस्य समेत रहेकी नेतृ थापाले नेतृत्व गतिहिन, प्रभाबहिन र अदुरदर्शी ढङ्गले अघि बढेको भन्दै यसबाट पार्टीको भबिष्यमा गम्भिर असर पर्ने बिचार ब्यक्त गरिन्।

पार्टी संचालन गर्न दिर्घकालिन योजना, फराकिलो चिन्तन र सबैलाई समेट्न सक्ने क्षमताको आवश्यकता पर्ने तर, अहिले पार्टी नेतृत्व चाकरी, चाप्लुसी र भक्तिगानमा रुमल्लिदै एकाङ्गी ढङ्गले अघि बढेको उनको आरोप छ।

योग्यता, क्षमता ,जनमतलाई हेरेर पार्टीमा भुमिका र जिम्मेवारी दिनुपर्नेमा नेतृत्वको स्तुतीगान गाउने मात्र अवसर पाउने हो भने स्वाभिमानी कार्यकर्ताले राप्रपामा लाग्नुको तुक नहुने नेतृ थापाको भनाई रहेको थियो।

नेतृ थापाको धारणामा पार्टीका उपाध्यक्ष बिक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ, ठाकुरमोहन श्रेष्ठ लगायतले समर्थन जनाएका थिए।