नक्कली बिलबाट अर्बौंको कारोबार
काठमाडाैं। कर छली गर्न नक्कली बिल बनाउने गरेको तथ्य खुलेको छ। आन्तरिक राजस्व विभागले ३ महिनादेखि गरेको अनुसन्धानमा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर कर छली भइरहेको तथ्य फेला परेको हो।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनालीले राजस्व छली गर्ने उद्देश्यले करिब १० अर्ब रुपैयाँ नक्कली बिल प्रयोग गरेका १ हजार ९८७ करदातामाथि छानबिन गर्न आन्तरिक राजस्व कार्यालयलाई निर्देशन दिएका थिए।
अहिलेसम्मको अनुसन्धानमा केही करदाताले ५.७ करोड रुपैयाँसम्मको नक्कली बिल बनाएर कारोबार गर्ने गरेको विभागले जनाएको छ।
कागजी रुपमा दर्ता कम्पनीबाट आफू अनुकूल बिल खरिद गर्दै भ्याट फिर्ता लिने र आयकर दायित्व कम गर्न खर्च बढी देखाउने धन्दामा संलग्न गिरोहमाथि विभागले छानबिन गरेको थियो।