बाघको छाला र हड्डीसहित ३ जना पक्राउ
काठमाडौं।बाँकेको कोहलपुर नगरपालिका–११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीनजनालाई शुक्रबार प्रहरीले जिल्ला वन कार्यालय बाँकेलाई बुझाएको छ।
उनीहरूलाई हिजो प्रहरीले कोहलपुर नगरपालिकामा जाँच गर्ने क्रममा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दैलेखको ठाटीकानडा गाउँपालिका–४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका–५ का नवीनकुमार कसेर र अछामको पञ्चदेवल गाउँपालिका–२ का टोपेन्द्र शाही रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला र हड्डीको कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको थियो । जिल्ला वन कार्यालयले त्यसको अनुसन्धान भइरहेको जनाएको छ । रासस