हुम्लामा तीन तले घरमा आगलागी २४ लाख बढी क्षति

सांकेतिक तस्वीर

काठमाडौं। हुम्लामा तीन तले कच्ची घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ। जिल्लाको सिमकोट गाउँपालिका–८ को लिगुडे खेतमा रहेको ५५ वर्षका जसबिर शाहीको घरमा आगलागी हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान घरको माथिल्लो तलामा बिजुली सर्ट भएर आगलागी हुँदा माथिल्लो तलमा रहेका चार कोठा, बीच तलाको तीन वटा कोठा, घरमा रहेको लत्ताकपडा, अन्नपात, सुनचाँदी र काठ जलेर नष्ट भएको छ।

आगलागीबाट २४ लाख मूल्यको क्षति भएको प्रहरीले मुचुल्का बनाएको छ। घरमा आगलागीको खबर प्राप्त भए लगत्तै प्रहरी चौकी धारापोरीबाट गएको सात जना प्रहरीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

आगलागी बिहानको समयमा भएका कारण मानवीय क्षति हुन नपाएको भट्टराईले बताए।