मुग्लिन–नारायणगढ सडक खण्ड पूर्ण रुपमा सञ्चालन
काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्ण सञ्चालनमा आएको छ। आज (सोमबार) बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको थियो । सुरक्षाकर्मीसहितको टोलीले पहिरो हटाएपछि सडक दुईतर्फी रुपमा सञ्चालन भएको छ।
पहिरो झरेको ठाउँमा एउटा मालबाहक ट्रक पनि पल्टिएको थियो। उक्त ट्रकलाई साइड लगाएर सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो। त्यसअघि पनि बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो।
राजधानी काठमाडौंको लाइफलाइन मानिने यो सडकखण्ड पहिरोले पटक–पटक अवरुद्ध हुँदा सयौं सवारी साधनसँगै यात्रुहरु घण्टौं जाममा परेर समस्या भोगीरहेका छन्।