साफ च्याम्पियनसिप: उपाधिका लागि भारत र कुवेत आज भिड्दै

काठमाडौं। साफ च्याम्पियनसिप २०२३ को उपाधिका लागि घरेलु टोली भारत र कुवेथ आज भिड्दैछन्।बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा भारत र कुवेतबिचको फाइनल खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।

दुवै टोली फाइनलसम्म आइपुग्दा अपराजित छन्। यस पटकदेखि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ च्याम्पियनसिपलाई अझ प्रतिस्पर्धात्मक बनाउन दक्षिण एसिया बाहिरका दुई टोलीला आमन्त्रण गरेको थियो। जसमा कुवेत र लेबनानले पहिलो पटक साफ खेलेका थिए। कुवेत पहिलो सहभागितामै प्रतियोगिताको फाइनल पुगेको हो ।

यता कीर्तिमानी ८ पटक साफ जितेर दक्षिण एसियाको पावर हउसको रुपमा स्थापित रहेको भारत लगातार नवौं पटक साफको फाइनल खेल्दैछ । घरेलु मैदान र दर्शकको साथ पाएको भारत कीर्तिमानी नवौं पटक उपाधि उचाल्ने योजनामा छ।

भारत र कुवेत दुवै समूह ए मा थिए । समूह चरणमा यी दुई टोलीले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए। गोलअन्तरका आधारमा भारतलाई पछि पार्दै कुवेत समूह विजेता बनेको थियो। तर दुवै टोली सेमिफाइनल विजयी हुँदै फाइनल भेट पक्का गरे।

भारतले अर्को आमन्त्रित टोली लेबनानलाई पेनाल्टीसुटआउटमा हराएर फाइनलमा स्थान बनाउँदा कुवेतले बंगलादेशमाथि १-० को कठिन जित निकालेको थियो।

भारत र कुवेत रहेकै समूहमा रहेको नेपाल भने दुई हार एक जितको नतिजासहित समूह्य चरणबाटै बाहिरिएको थियो।सन् २००५ मा कराची र २०११ मा दिल्लीमा खेलाडीका रुपमा साफ जितेका महेश गवलीले फेरि एकपटक भारतको टचलाइन सम्हाल्नेछन्।

मुख्य प्रशिक्षक इगोर स्टिमाक रातो कार्ड पाउ प्रतिवन्धमा रहेपछि यी पूर्वडिफेण्डर महेशको काधमा ठूलो जिम्मेवारी आएको हो । प्रशिक्षकको रुपमा पनि साफको उपाधि जित्न उनी आतुर छन्।

यसअघि समूह चरणमा तनावपूर्ण खेल भएको भन्दै प्रशिक्षक महशेले शान्त भएर फाइनलमा केन्द्रित भएको प्रि म्याचमा बताएका थिए । फाइनल यसअघिका खेल भन्दा फरक हुने भएकोले सकरात्मक सोचका साथ मैदान उत्रने उनको भनाइ थियो।

सेमिफाइनल गुमाएका सन्देश जिंगनले फाइनल खेलका लागि टोली तयार रहेको बताएका छन्।

यस्तै कुवेतको मुख्य प्रशिक्षक रुई बेन्टोले पनि फाइनल अन्य खेल भन्दा फरक हुने र उपाधिकै लागि आफूहरुले प्रतिस्पर्धा गर्ने बताएका छन्। उनले फाइनल पुग्नका लागि कडा मिहिनेत गरेको र खेललाई इन्जोए गर्न आफूले खेलाडीलाई सन्देश दिएको बताए।

पोर्चुगलको उमेर समूहको टिम हेरिसकेका बेन्टोले गत वर्ष मात्र कुवेतको प्रशिक्षण सम्हालेका थिए । भारतलाई हराएर उपाधि जिते कुवेतले २०१० को अरबियन गल्फ कपपछि पहिलो उपाधि जित्नेछ ।

यता भारतले साफ अघि लेबनलाई हराएर इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको थियो।

भारत र कुवेतबीच अर्को रमाइलो संयोग छ। दुवै टोली पछिल्ला १० खेलमा अपराजित छन्। भारतले २०२२ सेप्टेम्बरमा भियतनामसँग पराजित भएयता १० खेलमा हार बेहोरेको छैन। यस क्रममा भारतले लेबनानसँग नै तीन पटक खेल्दा दुई पटमक (पेनाल्टीसहित)जित हात पारेको छ।

यस्तै कुवेतले पनि यसै वर्ष जनवरीमा अरबियन गल्फ कपमा पराजित भएपछि कुनै खेल हारेको छैन। यस क्रममा कुवेतले युएई, जाम्बिया जस्ता टिमलाई पराजित गरेको थियो भने बहराइनसँग बराबरी खेलेको थियो।