सिम्रौनगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित नगरपालिकाका ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

साहसहितका ४ कर्मचारीले विभिन्न तीनवटा योजनामा उपभोक्ता समितिले काम गरेको भन्दा बढी रकम भुक्तानी गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत समेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब इन्जिनियर उपेन्द्र कुशवाहले सिम्रौनगढ नगरपालिका–२ को रानीबास संग्रहालय भवन निर्माण र अन्य दुई योजनामा काम भएको भन्दा करिब ६ लाख रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको आरोप छ।

रानीबास संग्रहालय भवन निर्माणमा ४ लाख २ हजार ९८० रुपैयाँ २० पैसा बढी भुक्तानी दिएको भन्दै अख्तियारले उपभोक्ता समितिका अध्यक्ष निरञ्जनप्रसाद कुशवाह, सचिव रामपाल दास र कोषाध्यक्ष सन्ध्या देवीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

त्यस्तै सिम्रौनगढ नगरपालिका–८ रामदिनेशको घरदेखि कचोर्वा बजारसम्मको सडक ढलानमा ८१ हजार ९६३ रुपैयाँ ४५ पैसा बढी भुक्तानी दिएको अख्तियारको दाबी छ। यसमा उपभोक्ता समितका अध्यक्ष सञ्जय यादव, सचिव दिपेन्द्र चौधरी र कोषाध्यक्ष विजुृली देवी विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सिम्रौनगढ नगरपालिका–२ स्थित रानीबास खेल मैदान निर्माणमा १ लाख ५६८ रुपैयाँ ७५ पैसा बढी भुक्तानी दिएको आरोप छ।
उपभोक्ता समितकिा अध्यक्ष सोनालालप्रसाद यादव, सचिव नन्दकिशोर साह कानुन र कोषाध्यक्ष गीताकुमारी साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।