मिटरब्याजी पीडितलाई न्याय दिलाउने काम रोकिँदैन: गृहमन्त्री श्रेष्ठ
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय नदिलाइ विश्राम नलिने आश्वासन दिएका छन्। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन पारित नभएपछि अध्यादेश निष्क्रिय भएको थियो।
तर सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री श्रेष्ठले पीडितलाई हरहालतमा न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले संसद्बाट मिटरब्याजसम्बन्धी विधेयका पारित हुन नसके पनि पीडितलाई न्याय दिलाउने काम नरोकिने उनले बताए।
आज म धेरै आहात भएको छु। आज प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुनुपर्थ्यो। तर गरिएन, उनले लेखेका छन्,आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ। यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ।
उनले सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिने बताए। पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरहरुले सोचेका छन् भने त्यो ठूलो भ्रम हो। पीडितलाई न्याय नदिलाई विश्राम लिइने छैन,उनले लेखेका छन्।