बाढी र पहिरोले लियो २४ जनाको ज्यान
काठमाडौं।यस वर्ष मनसुन सुरू भएपछि बाढी र पहिरोमा परी मुत्यु हुनेको संख्या २४ पुगेको छ भने बाढी पहिरोमा परी बेपत्ता हुनेको संख्या २५ रहेको छ।
गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य महाशाखाले दिएको जानकारीअनुसार अहिलेसम्म बाढी र पहिरोबाट १८ जिल्ला प्रभावित भएका छन्।
ती जिल्लामा गएको बाढी पहिरोमा परी १० जना घाइते भएका छन् भने ७४ वटा पक्की घर पूर्ण रूपमा ध्वस्त हुनुका साथै १ सय १८ घरमा आंशिक क्षति पुगेको पनि सो महाशाखाले जानकारी दिएको छ ।मृत्यु हुनेमा महिलाभन्दा पुरुष बढी रहेका छन्। बाढी र पहिरोमा परेर मृत्यु हुने पुरुषको संख्या १५ र महिलाको संख्या ९ पुगेको छ।
पहिरोबाट १८ जिल्लाका ४ सय ५४ परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ । बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपियाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।