आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
राती देशभर आंशिक देखि सामान्य रही कोशी र गण्डकी प्रदेश लगायत देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी , गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाको अनुमान छ।
त्यसकारण हावा हुरी भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।