मर्निङ वाकमा निस्कनेहरूको सिक्री श्रृंखलाबद्ध लुटपाट,काठमाडौंबाट चार जना पक्राउ
काठमाडौं। काठमाडौंमा मर्निङ वाकमा निस्केका बेला महिलाहरुको सुनको सिक्री श्रृंखलाबद्ध लुटपाटको घटना सार्वजनिक भएको छ । लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतबार पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई पक्राउ गरिएको जानकारी गराएको हो।
पछिल्लो एक महिनायता विशेष गरी मर्निङ वाकमा निस्किने महिलाहरुको घाँटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए।
‘बिहानीपख विशेषतः मोर्निङ वाकमा निक्लिने महिलाहरुको सुनको सिक्रीहरु लुटिएको भन्ने आधारमा अनुसन्धान सुरु गर्यौं,उनले भने,यो अनुसन्धानलाई अगाडि बढायौं। यसमा गु्रप नै संलग्न रहेको पाइयो। यसमा ४ जनालाई पक्राऊ गरियो। बाईकहरुको प्रयोग गरेर उनीहरुले लुटेका हुन।
लुटपाट कार्यमा मोटरसाईकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ। सो मोटरसाइकल पनि चोरीकै रहेको पाइएको छ।
उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुट्ने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाईकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोवाईल सेट बरामद गरिएको छ। लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको पनि खोजी भईरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए।