नेपाल टेलिकमका दूरसञ्चार सेवा पूर्णरुपले फाइबरबाट सञ्चालित

काठमाडौं। दूरसञ्चार कार्यालय लहानको कार्यक्षेत्रभित्र पर्ने पुरानो प्रविधिका तारवाला टेलिफोन र एडीएसएल सेवालाई फाइबर नेटमा रुपान्तरण गरिएको छ।

लहान नगरपालिकाका अधिकांश क्षेत्रहरु र केही गाउँपालिकाहरुमा रहेका पुरानो प्रविधिको टेलिफोन र इन्टरनेट प्रविधिलाई अत्याधुनिक फाइबर प्रणालीबाट विस्थापन गरिएको हो।

अबदेखि सो क्षेत्रका सेवाग्राहीहरुले एउटै केवलबाट अत्यन्त तीव्र गतिको इन्टरनेटका साथै एचडी क्वालिटीको आवाजसहितको टेलिफोन सेवा र एनटी टीभी समेत प्रयोग गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।

हालै दूरसञ्चार कार्यालय लहानमा आयोजित एक समारोहकावीच प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशका निर्देशक अमुल प्रधानले पुरानो प्रविधिको एक्सचेञ्जको स्विच अफ गरी विधिवत रुपमा पीएसटीएन ई १० बी एक्सचेन्ज एफटीटीएच सेवामा माइग्रेसन भएको घोषणा गरेका थिए।

लहान एक्सचेन्ज अन्तर्गत हाल ८ हजार लाइन क्षमताको एफटीटीएच पूर्वाधार तयार भएको छ। कम्पनीले देशभर नै पुरानो प्रविधिको तामाको तारवाला सेवालाई अप्टिकल फाइबरबाट विस्थापित गरी अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउदै आएको छ।

सिराहा जिल्लामा रहेका गोलबजार एक्सचेञ्ज र मिचैया एक्सचेञ्जलाई पनि निकट भविष्यमा नै पूर्णरुपमा अप्टिकल फाइबरमा स्तरोन्नति गरिने तयारी रहेको नेपाल टेलिकमले जनाएको छ।