वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो

सांकेतिक तस्वीर

काठमाडौं। वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी तालिम संस्था, स्वास्थ्य संस्थालगायतबाट ठगिने गरेका छन्। यो क्रममा बढ्दो छ।

यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन । वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीमध्ये असाध्यै थोरै मात्रै फर्स्योट हुने गरेको पाइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा तीन हजार तीन सय ५६ वटा उजुरी परेकामध्ये तीन सय ५९ वटा (१० दशलमव ६९ प्रतिशत) मात्रै फर्स्योट भएका छन् ।

विभागका निर्देशक गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीका क्रममा परेका उजुरीमध्ये ठूलो सङ्ख्याका व्यक्तिगत भएकाले ती उजुरी टुङ्गो लगाउन समय लाग्ने भएकाले फस्र्योटको सङ्ख्या थोरै भएको जानकारी दिए।

संस्थागत उजुरीको हकमा कारबाही गर्न पनि सहज हुने तर व्यक्तिगत उजुरीका दोषी पत्ता लगाउनै समय लाग्ने गरेको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट