हुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र बुझ्न पुग्यो सुरक्षाकर्मीको टोली
काठमाडौं। हुम्लाको बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ। सर्केगाडका तीन गाउँमा शुक्रबार रातिबाट गएको पहिरोले पु¥याएको क्षतिको अवस्था बुझ्न शनिबार दिउँसाे तीनै निकायका सुरक्षाकर्मी पुगेका हुन्।
रिप गाउँमा बाढीको जोखिम बढ्दै गएको स्थानीयले बताएका छन्। स्थानीय मानबहादुर थापाले भने, ‘बाढीपहिरो गाउँमा पसेको छ। जोखिममा रहेका बस्ती पहिचान गरेर स्थानान्तरण नगरे ठूलो मानवीय क्षति हुन्छ।
बस्तीको माथिल्लो भागबाट पहिरो जान सुरु गरेको उनको भनाइ छ। कर्णाली प्रदेशका प्रहरी प्रमुख भिमप्रसाद ढकालले करिब २ सय १० घरधुरीका ७ सय जना बाढीपहिरोको उच्च जोखिममा रहेको बताए।
प्रदेश सरकारका कानुनमन्त्री कृष्ण जिसीले सुरक्षाको टोलीको अपडेटलगत्तै राहतको सामग्री लिएर आफ्नो टोली सर्केगाड जाने बताए । जोखिममा परेका नागरिकको उद्धारसँगै स्थानान्तरण गर्न सुरक्षाको टोलीलाई निर्देशन दिएको उनको भनाइ छ।