हुम्लामा बाढी पहिरोले दुई गाउँमा क्षति
काठमाडौं। हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति पुगेको जानकारी दिए।
मानवीय क्षति नभए पनि घर, जलविद्युत आयोजना, सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको उनले जानकारी दिए । सर्केदेउ गाउँका दलबहादुर रोकायको घर भत्किएको छ।
रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँलेहरु समस्यामा परेका थिए। सो गाउँका करिब २५ जनालाई घर खालि गराएर सुरक्षित स्थानमा सारिएको प्रहरी प्रवक्ता मल्लले जानकारी दिए।
जलविद्युत आयोजनामा पनि क्षति पुगेपछि गाउँलेहरु अन्धकारमा रात बिताउन बाध्य छन्। सडक र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ। त्यसैले सो स्थानको यकिन विवरण पनि आउन सकेको छैन।
शुक्रबार नै बाढी पहिरोले क्षति पुर्याएको खबर पाएपछि सदरमुकामबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोली सो स्थानतर्फ पठाइएको थियो। तर बाटो भत्किएकाले सो टोली अगाडि बढ्न सकेको थिएन।
त्यसपछि आज फेरि अर्को टोली बाढी पहिरो प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता मल्लले जानकारी दिए।